सिन्धुपाल्चोक, २६ जनवरी २०२५ - पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अगुवा कृषकहरुले पेशागत स्वास्थ्य तथा सुरक्षा (OHS) एकीकृत सामाजिक व्यवहार परिवर्तन संचार (SBCC) सम्बन्धी १ दिने तालिम प्राप्त गरेका छन्। यो तालिम मेड्सा डु मोण्ड (MdM France) र ट्रायङ्गल जेनेरेशन ह्युम्यानिटेरी (TGH) को आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण विकासका लागि किसान (FRDEV) ले कार्यान्वयन गरिरहेको प्राङ्गारिक (दिगो) र सुरक्षित खाद्यान्न उत्पादन प्रणालीको विकास (SFVC) परियोजना अन्तर्गत आयोजना गरिएको हो। तालिमको मुख्य उद्देश्य अगुवा कृषकहरूको पेशागत स्वास्थ्य तथा सुरक्षा सम्बन्धि ज्ञान र सीपमा सुधार ल्याउनुका साथै नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य बीमाको महत्त्व बुझाउनु र समुदायमा स्वास्थ्य सचेतना प्रवर्धन गर्नु थियो।
श्री थाङ्पाल भ्यालि मावि, सिन्धुपाल्चोकमा सम्पन्न तालिमको उद्घाटन मानेखर्क महिला साना किसानकी अध्यक्ष श्री सार्की डोल्मा तामाङको अध्यक्षता, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका उपाध्यक्ष श्री सुनिता अधिकारीको प्रमुख आतिथ्यता, र मेड्सा डु मोण्डका कार्यक्रम प्रबन्धक श्री महेश प्रसाद जोशीको उपस्थितिमा सम्पन्न भयो। तालिममा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ४ का २० जना अगुवा कृषकहरूको सहभागिता रहेको थियो।
तालिममा कृषिमा पेशागत स्वास्थ्य तथा सुरक्षा, रासायनिक मल तथा विषादीको असर र सावधानी, व्यक्तिगत सुरक्षा उपकरणहरूको प्रयोग, महिला स्वास्थ्यसम्बन्धी समस्याहरू, र राष्ट्रिय स्वास्थ्य बीमाका विषयमा छलफल भयो। सहभागी कृषकहरूलाई चोटपटक तथा दुर्घटनाबाट जोगिन अपनाउनुपर्ने सावधानी र कृषि कार्यमा सुरक्षित अभ्यास गर्नुपर्ने उपायबारे प्रशिक्षण दिइएको थियो। यसै क्रममा, कृषकहरूको पेशागत स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न स्थानीय क्षेत्रको सामाजिक नक्सा बनाइएको थियो र तालिममा विभिन्न जोखिम न्यूनीकरण गर्ने तरिकाहरु, व्यक्तिगत सुरक्षा उपकरणहरूको प्रयोग, र कृषकहरूको शारीरिक स्वास्थ्यका लागि उपयुक्त अभ्यासहरूका बारेमा छलफल भयो। स्वास्थ्य बिमाको बारेमा जानकारी सहित छलफल संगसंगै स्थानीय स्वास्थ्य संस्थाहरुमा (थाङ्पालकोट (मानेखर्क) स्वास्थ्य चौकी, धुलिखेल अस्पताल मानेखर्क ) एकीकृत पेशागत स्वास्थ्य तथा सुरक्षा (OHS) सेवाहरुको लागि तयारी तथा उपलब्धता हुने जानकारी पनि गरिएको थियो।
मुख्यतया तालिमका मुख्य यी अंशहरू समेटिएका थिए:
तालिमको सहजीकरण एस.एफ.भी.सी परियोजना अन्तर्गत एम.डी.एम फ्रान्सका कार्यक्रम अधिकृत मानसिंह ऐडी र ग्रामिण विकासका लागि किसान (फार.डे.भ)का जनस्वास्थ्य अधिकृत सरिना श्रेष्ठले गरेका थिए । साथै कार्यक्रममा मानेखर्क महिला साना किसानकी अध्यक्षले स्थानीय कृषकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्धता व्यक्त गरिन्। पाँचपोखरी थाङ्पाल गाउँपालिकाका उपाध्यक्षले पनि कृषिमा पेशागत स्वास्थ्य तथा सुरक्षाको महत्त्वलाई जोड दिँदै परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
यस तालिम पश्चात कृषक अगुवाहरुले कृषिमा पेशागत स्वास्थ्य तथा सुरक्षा सम्बन्धी उपायहरु व्यवहारमा ल्याउने छन् र आफ्नो समूहमा दिगो कृषि र पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन विषयवस्तुमा छलफल गर्ने छन् । सहभागीहरूले सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै समुदायमा यसबारे चर्चा गर्ने र प्रवर्धन गर्ने बताएका छन्। यो तालिम (SFVC) एस.एफ.भी.सी. परियोजनाले स्थानीय कृषकहरुको पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन गर्ने, उनीहरुलाई सामाजिक व्यवहार परिवर्तनका लागि स्वास्थ्य शिक्षा, स्थानीय सरकारी स्वास्थ्य संस्थाबाट पेशागत स्वास्थ्य सेवाहरूको प्रयोग तथा प्रवर्धन गर्न रासायनिक विषादी न्यूनीकरण गर्ने तथा दिगो कृषि प्रणाली विकास गर्न गरेको पहलका रूपमा महत्वपूर्ण रहेको छ।
" कृषकहरुको पेशागत स्वास्थ्य तथा सुरक्षाको विकास, प्राङ्गारिक (दिगो) खाद्यान्न उत्पादन प्रणालीको आधार "