लिखु तामाकोशीका अगुवा कृषकहरुलाई पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन सम्बन्धी तालिम सम्पन्न

 एग्रो खबर   १३ माघ, २०८१


रामेछाप, २२ जनवरी २०२५ - सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र रामेछाप जिल्लामा मेड्सा डु मोण्ड (MdM France) र ट्रायङ्गल जेनेरेशन ह्युम्यानिटेरी (TGH) को आर्थिक तथा प्रावधिक सहयोगमा ग्रामीण विकासका लागि किसानले (FRDEV) कार्यान्वयन गरिरहेको प्राङ्गारिक (दिगो) र सुरक्षित खाद्यान्न उत्पादन प्रणालीको विकास (SFVC) परियोजना अन्तर्गतको लिखु तामाकोशी गाउँपालिकाका अगुवा कृषकहरुले पेशागत स्वास्थ्य तथा सुरक्षा (OHS) एकीकृत सामाजिक व्यवहार परिवर्तन संचार (SBCC) सम्बन्धी १ दिने तालिम प्राप्त गरेका छन् । तालिमको मुख्य उद्देश्य अगुवा कृषकहरूको स्वास्थ्य सम्बन्धि ज्ञान र सीपमा सुधार ल्याउनु र उहाँहरुले समुदायमा कृषक समूह अन्तर्गतका अन्य कृषकहरुलाई एस.बि.सी.सी संचालन गर्न तयार गर्ने थियो।

प्राथमिक स्वास्थ्य केन्द्र खिम्ती, रामेछापमा सम्पन्न भएको उक्त तालिममा रामेछाप जिल्ला, लिखु तामाकोशी गा.पा. अन्तर्गत वडा नं ६ र ७ का २८ जना अगुवा कृषकहरु सहभागी भएका थिए । तालिममा कृषकहरूको पेशागत स्वास्थ्य तथा सुरक्षाबारेमा विस्तृत जानकारी दिइयो। यस अवसरमा तालिम सहजकर्ताहरुले अगुवा कृषकहरूलाई कृषकहरुको पेशागत स्वास्थ्य प्रवर्धन गर्न अपनाउनु पर्ने उपायहरुबारे प्रशिक्षण दिए।

कृषकहरूको पेशागत स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न, स्थानीय क्षेत्रको सामाजिक नक्सा बनाइएको थियो र तालिममा विभिन्न जोखिम न्यूनीकरण गर्ने तरिकाहरु, कृषि उत्पादनमा रासायनिक मलहरू प्रयोग गर्दा अपनाउनु पर्ने उपायहरू, र कृषकहरूको शारीरिक स्वास्थ्यका लागि उपयुक्त अभ्यासहरूका बारेमा छलफल भयो। कृषकहरूको लागि व्यक्तिगत सुरक्षा उपकरणहरूको प्रयोग र कृषि कार्यमा हुने दुर्घटनाबाट जोगिनका लागि सुरक्षा उपायहरू पनि प्रस्तुत गरिएका थिए। स्वास्थ्य बिमाको बारेमा जानकारी सहित छलफल संगसंगै स्थानीय स्वास्थ्य संस्थाहरुमा (खिम्ती प्राथमिक स्वास्थ्य केन्द्र, तिल्पुङ्ग स्वास्थ्य चौकी, सिमलडांडा सामुदायिक स्वास्थ्य एकाई) एकीकृत पेशागत स्वास्थ्य तथा सुरक्षा (OHS) सेवाहरुको लागि तयारी तथा उपलब्धता हुने जानकारी पनि गरिएको थियो।

मुख्यतया तालिमका मुख्य यी अंशहरू समेटिएका थिए:

  • कृषि क्षेत्रमा पेशागत स्वास्थ्य तथा सुरक्षा
  • कृषकहरुमा चोटपटकको जोखिम न्यूनीकरण तथा रोकथामका उपायहरु
  • रासयानिक विषादी, वातावरण तथा स्वास्थ्यमा हुने जटिल असरहरु
  • रासयानिक विषादी प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु
  • कृषिमा व्यक्तिगत सुरक्षा सामग्री र प्रयोग गर्ने तरिकाबारे जानकारी
  • पोलेको र काटेको घाउमा कसरी प्राथमिक उपचार गर्ने सम्बन्धि जानकारी
  • पशुपन्छीजन्य रोगहरु तथा प्रतिजैविक औषधीको प्रतिरोधबारे जानकारी
  • विपद, जलवायु परिवर्तनको असरहरु न्यूनीकरण सम्बन्धि जानकारी
  • व्यक्तिगत तथा वातावरणीय स्वास्थ्य र सरसफाई
  • हाडजोर्नी तथा मांसपेशीको समस्या रोकथाम
  • महिलाहरुमा पाठेघर खस्ने समस्या
  • आधारभूत स्वास्थ्य सेवा तथा स्वास्थ्य बिमा सम्बन्धि जानकारी

यस तालिम एस.एफ.भी.सी परियोजना अन्तर्गत एम.डी.एम फ्रान्सका कार्यक्रम अधिकृत र ग्रामिण विकासका लागि किसान (फार.डे.भ)का जनस्वास्थ्य अधिकृतले सहजीकरण गरेका थिए, साथै मनसुन साना किसान सहकारीका अध्यक्षले स्थानीय तहमा एस.बि.सी.सी संचालन गर्न अगुवा कृषकहरुलाई चाहिने सहयोग आफू लगायत संस्थाले जुटाउन मदत गर्ने प्रतिबद्दता व्यक्त गरे ।  यस तालिम पश्चात कृषक अगुवाहरुले आफ्नो आफ्नो समूहमा गएर ६ वटा दिगो कृषि र  पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन विषयवस्तुमा एस.बि.सी.सी संचालन गर्ने छन् ।

यो तालिम (SFVC) एस.एफ.भी.सी. परियोजनाले स्थानीय कृषकहरुको पेशागत स्वास्थ्य तथा सुरक्षा प्रवर्धन गर्ने, उनीहरुलाई सामाजिक व्यवहार परिवर्तनका लागि स्वास्थ्य शिक्षा, स्थानीय सरकारी स्वास्थ्य संस्थाबाट पेशागत स्वास्थ्य सेवाहरूको प्रयोग तथा प्रवर्धन गर्न रासायनिक विषादी न्यूनीकरण गर्ने तथा दिगो कृषि प्रणाली विकास गर्न गरेको पहलका रूपमा महत्वपूर्ण रहेको छ।



संबन्धित समाचारहरु


प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस