अस्ट्रेलिया उडानका लागि तोकियो नेपाल एयरलाइन्स

 एग्रो खबर   १५ चैत, २०७९


अस्ट्रेलियाबाट नेपाल उडानका लागि नेपाल सरकारले नेपाल एयरलाइन्सलाई तोकेको छ।

सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच विमान उडाउन पाउने एयर सर्भिस एग्रिमेन्ट भएको चार वर्षपछि नेपाल सरकार पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत् नेपाल एयरलाइन्सलाई अस्ट्रेलिया उडानको लागि आधिकारिक वायुसेवा तोक्ने काम गरेको हो।

अब यस निर्णयलाई अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अष्ट्रेलियन सरकारको सम्बन्धित निकायलाई यसको पत्राचार गरिसकेपछि उडानको प्रारम्भिक ढोका खुल्ने भएको छ।

नेपाल एयरलाइन्सले कोभिडको महामारीका बेला नेपालीको उद्धारका लागि काठमाडौं क्यानबेराको उडान भरेता पनि आधिकारिक रूपमा नेपाली वायुसेवाहरूले नियमित कुनै उडान गर्न सकेका छैनन्।

दिनहुँ सयौंको संख्यामा नेपालीहरू अस्ट्रेलियाबाट नेपाल र नेपालबाट विद्यार्थीहरूको अस्ट्रेलिया आउने घुइँचो थामिनसक्नु नै छ।

कुनै पनि दुई राष्ट्रबीच हवाई सेवा प्रारम्भ गर्नुअघि आधिकारिक रूपमा सम्बन्धित मुलुकले विमान कम्पनीको नाम तोक्नु पर्दछ।  यस पटक नेपाल एयरलाइन्स उडानका लागि इच्छुक देखिएकोले नेपाल सरकारले यसलाई आधिकारिता दिने काम गरेको  अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल बताउँछन्।

यो निर्णयपछि अब नेपाल अस्ट्रेलिया बीचको सिधा उडानको ढोका खुलेको छ। 

‘अन्य प्रक्रियाहरू अगाडि बढ्ने विश्वास हामीले लिएका छौं’, राजदूत पोखरेलले भने।

यदि नेपाल एयरलाइन्सले साताको दुई दिनमात्र काठमाडौं-सिड्नी- काठमाडौं उडान भर्न सकेमा त्यो अस्ट्रेलिया बस्ने नेपालीहरूको लागि गौरवको विषयसँंगै सहज यात्रा पनि सम्भव हुने एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल बताउँछन्।

अस्ट्रेलियामा हाल करिब २ लाख नेपाली बसोबास गर्छन्। यीमध्ये अधिकांश विद्यार्थी छन्। अस्ट्रेलियामा अध्ययन गर्न आउनेमध्ये नेपाल संख्याका हिसाबले तेस्रो नम्बरमा पर्छ। तर, अस्ट्रेलियाका लगि कुनै पनि नेपाली विमान कम्पनीले उडानका लागि पहल नगर्दा यात्रुले सास्ती पाउँदै आएका छन्।



संबन्धित समाचारहरु


प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस