खेतीपाती नै छोड्न खोजेका चन्द्र यसरी बने ‘अर्गानिक अंकल’

 एग्रो खबर   १२ चैत, २०७९


साढे तीन दशकदेखि अर्गानिक खेतीमा समर्पित चितवनका चन्द्रप्रसाद अधिकारीले थुप्रै कृषकलाई अर्गानिक खेतीतिर आकर्षित गरेका छन् भने धानका ११० वटा प्रजाति सङ्कलन गरेर दिगो संरक्षणका लागि सरकारलाई बुझाएका छन्।

लगातार घाटामा गएको गोलभेंडा खेती सुधार्न के मात्र गरेनन्, चन्द्रप्रसाद अधिकारीले। चितवन, श्रीपुरका उनले रामपुर क्याम्पसका कृषिविज्ञबाट माटो परीक्षण गराए। उन्नत जातको बीउ खोजेर रोपे। त्यति गरेपछि उनी २०४५ पुसमा ढुक्क थिए- यसपालि त पक्कै उब्जनी कम नहोला।

नभन्दै बिरुवा सप्रिएर महीनादिनमै कम्मरसम्म आइपुग्यो, गोलभेंडा लटरम्मै फल्यो। टिप्ने वेलासम्म पुग्दा भने चन्द्र खङ्ग्रङ्ङै परे। ‘हेलिकोभर्पा’ अर्थात् गवारोले बाली दुई रातमै सखाप पारिदियो। दाना सबै भ्वाङ परिसकेका थिए। “एक बिघामा लगाएको गोलभेंडा एक किलो पनि सद्दे नभएपछि कृषि नै छाड्ने सोच आएको थियो,” उनी सम्झन्छन्।

अनि चन्द्रले अन्तिम पटक प्रयास गर्ने सोच राखी रामपुर क्याम्पसका प्राध्यापक तथा कीराविज्ञ फणीन्द्र न्यौपानेलाई डाके। फणीन्द्रले गवारो मास्न डेमोक्रेन नामक विषादी प्रयोग गर्न सुझाए। चन्द्रले तुरुन्तै किनेर ल्याई पनि हाले। त्यत्तिकैमा एउटा कीरा झुक्किएर विषादीको डब्बाभित्रै खस्यो। त्यो मर्नु त कता हो, उस्तै फुर्तीसाथ हिंड्न थाल्यो। जबकि‚ बालीमा त प्रतिलिटर पानीमा जम्मा दुई एमएल विषादी मिसाएर छर्किएको थियो। 

 देखेर कीराविज्ञ फणीन्द्र आफैं अचम्ममा थिए। उनले प्रतिक्रिया जनाए, “कीराहरूले यसरी विषादी नै पचाउन थालेपछि कृषिको भविष्य के होला?”

फणीन्द्रले चन्द्रलाई खेती प्रणाली नै बदल्न सुझाए। त्यो थियो, रासायनिक छाडेर प्राङ्गारिक (अर्गानिक) खेती गर्ने। उता परिवार भने खेतीको तरीका नै बदल्दा अलि अलि भइरहेको आम्दानीको स्रोत पनि गुम्ने चिन्तामा पर्‍यो। चन्द्रले जसोतसो मनाए। उनलाई प्राङ्गारिक खेतीमा ढाडस दिने अर्को कुरा पनि थियो- बुबा बद्रीनाथले वर्षौंअघिसम्म गर्दै आएको यस्तै खालको कृषिकर्म।

चन्द्रका अनुसार‚ १० बिघामा खेती गर्ने गरेका बद्रीनाथले कहिल्यै रासायनिक मल प्रयोग गरेनन्। बरु २०२६ सालतिर गाउँमा जेटीएहरू आएर रासायनिक मलको प्रचार गर्दा जवाफ दिएका थिए, “हामीलाई हाम्रै गाईबस्तुको मलले राम्रो उब्जनी दिएको छ, रासायनिक मल चाहिंदैन।”

चन्द्रलाई आफ्नै पालामा प्रयोग थालिएको रासायनिक मलले नै माटो कडा पारिदिएर उर्वराशक्ति घटाइदिएको, यसैले गर्दा उब्जनी घटेको अनुभूति भयो। त्यसैले एक पटक पूरै खेती प्रणालीलाई प्राङ्गारिक बनाउन जुटे। “अहिले त्यो जीवनकै सही निर्णय लिइएछ भन्ने लाग्छ,” उनी भन्छन्।

प्राङ्गारिक यात्रा

चन्द्रले त्यसपछिको दुई वर्ष पूरै ध्यान पशुपालनमा लगाए। गोठ सुधारेर गाईबस्तुको मल सङ्कलन गरे। त्यसैलाई बालीमा छरे। २०४५ सालमै दिगो कृषि संस्थान नेपाल नामक संस्थाबाट प्राङ्गारिक कृषि तालीम र २०४९ सालमा भकारो सुधार कार्यक्रममा सहभागी भए।

बालीमा अपेक्षित सुधार आइसकेको थिएन। तर‚ २०५० सालको अन्तिमतिर यति धेरै गाजर उत्पादन भयो कि उनी चकित परे। उनी भन्छन्, “ठ्याक्कै कति भन्ने याद छैन, तर त्यति धेरै उब्जनी र आम्दानी देखेपछि परिवार पहिलो पटक मेरो अर्गानिक खेतीप्रति खुशी भयो।”

उनी यसको श्रेय भकारो सुधार कार्यक्रमलाई दिन्छन् जसले उनलाई घरमै राम्रो मल बनाउनेदेखि प्रयोग गर्ने तरीका सिकाएको थियो। चन्द्रका अनुसार‚ त्यसपछि त हरेक वर्षजसो रासायनिक मल प्रयोग गरेका छिमेकीको भन्दा उनकै बाली बढी उब्जिन थाल्यो। मानिसहरू सोधपुछ र अध्ययनका लागि आउन थाले, तिनमा रामपुर क्याम्पसका विद्यार्थी पनि हुन्थे।

यही लगनले चन्द्र २०५२ सालमा सोही क्याम्पसको व्यवस्थापन तथा विकास परिषद् सदस्य पनि भए। त्यही क्रममा उनी अर्गानिक कृषिको तालीम लिन काठमाडौं आए जहाँ उनको भेट प्राङ्गारिक खेतीका लागि प्रेरित गर्ने तिनै कृषिविज्ञ फणीन्द्रसँग भयो। उनले सोधे, “अर्गानिक खेती अझै गर्दै छौ चन्द्र?” चन्द्रले जवाफ दिए, “अझै होइन, अब बाँचुन्जेल यही खेती गर्छु।” फणीन्द्रले उनलाई जैविक विधिबाट कीरा र मल व्यवस्थापन गर्नेबारेका पुस्तकहरू थमाइदिए।

तिनै पुस्तकबाट उनले गँड्यौलाबाट मलको व्यवस्थापन गर्ने, वनस्पतिको विषादी बनाउने ज्ञान पाए। स्थानीय स्रोतसाधन र सीपको विवेकशील प्रयोग गरेर वातावरण र प्रकृतिलाई हानि नपुर्‍याई गरिने अर्गानिक खेतीको मर्म अझ गहिरिएर बुझ्न थाले। उनी भन्छन्, “दुई बिघा खेतलाई पुग्ने मल घरमै तयार पार्न थाल्यौं। सबैभन्दा राम्रो गँड्यौला पालनबाट भयो।” उनले २०५७ सालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट माटो परीक्षण गराएर आफ्नो प्राङ्गारिक कृषिकर्मलाई सरकारी मान्यता समेत दिलाइसकेका छन्। 

चन्द्रले त्यसपछि धान, गहुँ, तोरी, मकै छाडेर अलि बढी आर्थिक आम्दानी दिने तेलहन अर्थात् सूर्यमुखीको बाली लगाउन थाले। “मल किन्न नपर्ने, कीरा लागे पनि घरमै बनेको वानस्पतिक विषादीले काम हुने। यसले लगानी र खर्च घटाइदियो,” उनी सुनाउँछन्, “दुई लाख लगानीमा चार लाख र पाँच लाख लगानीमा १० लाख आम्दानी हुन थाल्यो।”

प्राङ्गारिक खेतीले अन्य किसानलाई समेत आकर्षण गरेपछि उनले २०६९ सालमा प्राङ्गारिक कृषि सहकारी संस्था स्थापना गरे जहाँ अहिले २३० किसान संलग्न छन्। सहकारी अहिले प्राङ्गारिक खेतीबारे अध्ययन र तालीमको थलो बनेको छ। कृषि प्रणालीमा सिक्ने-सिकाउने काम जीवन्त बनाउन चन्द्रले नै सहकारीमा चार वर्षअघि प्राङ्गारिक सिकाइ केन्द्र स्थापना गरेका छन्।

पछिल्ला दिन पूरै चितवनमा ‘अर्गानिक अंकल’ भनेर चिनिने उनी यो परिचयसँग यस कारण पनि सन्तुष्ट छन् कि अहिले आफ्नै कारणले अरू धेरैले माटो संरक्षणमा ध्यान दिन थालेका छन्। उनी भन्छन्, “यसमा कृषकलाई नोक्सानी छैन बरु स्वस्थकर जीवन पाएका छन्।”

धानका ११० प्रजाति संरक्षण

प्राङ्गारिक कृषिकर्ममा भिजेपछि चन्द्रलाई सँगसँगै बाली पनि जोगाउँदै जानुपर्छ भन्ने लाग्यो। हजुरबुबाका पालाको धानका प्रजाति नातिका पालामा हराउँदै जाने जोखिम देखे। त्यसैले २०६४ सालदेखि घरमै धानका बीउ सङ्कलन थालेका उनले २०७७ सम्म आइपुग्दा देशभरबाट ११० प्रजाति जुटाइसकेका थिए।

“यो मेरो १३ वर्षको सङ्कलन हो,” माटाका भाँडा देखाउँदै उनी भन्छन्, “अहिले यसको दिगो संरक्षण गर्न सरकारलाई जिम्मा दिएको छु।” उनले ती बीउ २०७७ सालमै काठमाडौंको खुमलटारस्थित राष्ट्रिय जीन ब्यांकलाई उपलब्ध गराएका हुन्।

कृषि तालीममा नेपाली बालीहरू लोप हुँदै गएको जानकारी पाएपछि उनलाई शक्तिसम्पन्न राष्ट्रहरूले मल र अन्य बीउमा कब्जा जमाए जसरी नेपाल पनि धानको बीउमा आत्मनिर्भर हुनुपर्छ भन्ने लागेको रहेछ। त्यसैले पूर्वदेखि पश्चिम नेपाल, जहाँ पुग्दा पनि उनको एउटा काम स्थानीयसँग बीउ माग्ने नै हुन्थ्यो। “यसकै लागि वार्षिक एक लाखसम्म खर्च भएको छ,” उनी भन्छन्, “आज यसको महत्त्व नदेखिएला, तर सय वर्षपछि मेरो पुर्खाले जोगाइदिएको बीउ भन्ने दिन आउन सक्छ।”

साढे तीन दशकको अनुभवमा चन्द्रले बुझेको के हो भने वातावरण र प्रकृतिलाई पनि अनुकूल हुने प्राङ्गारिक खेती नै कृषिको उन्नत र अन्तिम विकल्प हो। जसरी निरोगी आमाबाट जन्मने सन्तान पनि निरोगी हुन्छन् त्यसै गरी रासायनिक मल प्रयोग नगरिएको माटोमा उब्जने बाली पनि स्वस्थकर हुन्छन्।

प्रशस्त एन्टिअक्सिडेन्ट पाइने प्राङ्गारिक तरकारी र खाद्यान्नले रोगप्रतिरोधात्मक क्षमता समेत बढाइदिने अमेरिकी स्वस्थ्य अध्ययन संगठनद्वारा सञ्चालित हेल्थलाइन डटकममा उल्लेख छ। “यसमा नोक्सान कतै छैन। मात्र, एक-दुई वर्ष माटोको उपचार गर्ने धैर्य राख्नुस्। त्यसपछि फलिफाप हुन्छ,” उनी सुझाउँछन्। 
 



संबन्धित समाचारहरु


प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस