विकासे सपनामा बरालिएको हाम्रो चेत

 एग्रो खबर   १२ चैत, २०७९


अहिले खाना र प्रकृतिमा भएको समानान्तर विघटनले मानिसलगायत समग्र प्रकृतिमा दिनदिनै अनपेक्षित संकट थपिंदै गएका छन् । कृत्रिम रसायन र विषादीको प्रयोग बढ्दो छ । खनिज ऊर्जा र प्रकृति दोहनले पर्यावरण निरन्तर विघटित छ । प्रदूषित हावापानी र वातावरणले नसर्ने दीर्घ रोग बढिरहेको छ । मानव जीवनका प्राथमिक आधार हावा, पानी र प्रकृतिको स्वास्थ्य अकल्पनीय रूपमा बिग्रेको छ ।

यीसँगै, खाद्यान्न अभाव अहिले सबैभन्दा जल्दोबल्दो समस्या बनेको छ । यसबाट खेतीपाती गरेर जीवन निर्वाह गर्ने श्रमजीवी किसान अहिले सबैभन्दा प्रभावित छन् । आम्दानी र रोजगारी नभएका आम मानिसलाई परिवारको खाद्य संकट टार्न र अन्य सामाजिक आर्थिक व्यवहार चलाउन मुश्किल भएको छ । आम समुदाय यस्ता व्यवहार चलाउन चाहिने नगदको जोहो गर्ने क्रममा वित्तीय उत्पीडनको नयाँ भूमरीमा फसेका छन् ।

विपन्न किसान समुदायले दैनिक गर्जो टार्न, सामाजिक व्यवहार चलाउन, स्वास्थ्य उपचार गर्न, बालबच्चाको शिक्षादीक्षा गराउन र परिवारका सदस्यलाई मुग्लान पठाउने बन्दोबस्त मिलाउन मिटरब्याजी, लघुवित्त र बैंकबाट चर्को ब्याजमा ऋण लिन बाध्य छन् । यो बाध्यतामा गाउँघरका साहु महाजनले थप खेलबाड गरेर उनीहरूको सम्पत्ति हडप्ने, जमिनबाट बेदखल गर्ने र मानसिक यातना दिने समेत गरिरहेका छन् ।

यस्ता ऋणबाट मुक्त हुन सकिन्छ कि भनेर बैंक र लघुवित्तको शरणमा पुगेका गाउँले उल्टै यस्ता वित्तीय संस्थाको किस्ता र चर्को ब्याजको चपेटामा परेका छन् । सबैतिर चर्को ब्याज र ठगीको कहालीलाग्दो अवस्था छ । खाना, नाना र छानाको बन्दोबस्त नभएका तर सबैतिरबाट उपेक्षित सीमान्तकृत समुदाय यसबाट सबैभन्दा बढी ठगीमा परेका छन् । एउटाको किस्ता तिर्न अर्कोबाट ऋण लिने र सावाँ–ब्याज थपिंदै जाँदा घरजग्गा लिलाम भएर उठीवास भएका हजारौं उदाहरण छरपष्ट छन् ।

यो सबै सहन विवश हजारौं पीडित समुदाय अहिले यो अत्याचारका विरुद्ध सडकमा ओर्लिएका छन् । उनीहरू आफ्ना पीडा र दुःखका कथा–व्यथा बोकेर जिल्ला सदरमुकाम हुँदै राजधानी धाएका छन् । यससँगै दलालका मतियारहरू यसलाई गिजोलेर धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर घुसपैठ गर्न सल्बलाइरहेका छन् ।

खासगरी, यिनले यी सुदखोरको अत्याचारलाई लेनदेनको मात्र समस्या भन्दै पीडितको आन्दोलनलाई निस्तेज पार्न खोजिरहेका छन् । यसलाई समयमै नसम्हाल्ने हो भने यसले निम्त्याउने सामाजिक विग्रह हामी सबैले अन्दाज गरेभन्दा भयानक हुनेछ ।

यी सबैको अन्तर्यमा भने आम मानिसको आम्दानी, रोजगारी र जीवनयापनको सहज अवस्थाको खोजी जोडिएको छ । यसले हाम्रो समाजमा जीवनको मुख्य आधार खानेकुराको बन्दोबस्तमा गम्भीर संकट आएकोतर्फ इंगित गर्दैछ । हामी सबैलाई थाहै छ, नेपाली समाज अहिले आफ्नै सन्तानको रगत–पसिनाको निर्यात गरी खाद्यान्नका नाममा पत्रुखाना आयात गरेर बाँचिरहेको छ ।

खेतबारी बाँझै बसेका छन् भने आयात दिनदिनै बढेको छ । यसलाई व्यवस्थित गर्ने जिम्मेवारी लिएको राजनीतिक अगुवाको जमात भने आफ्ना छुद्र स्वार्थका वरिपरि झिंगेदाउमा मात्र व्यस्त छन् । उल्टै किसानी र स्थानीयतामा आधारित खेतीपातीको परम्परा उन्नत बनाउनुको साटो आधुनिक कृषिको रट लगाउँदै प्रत्यक्ष वैदेशिक लगानी, कृत्रिम रसायन र विष मात्र भित्र्याउन उद्यत छ ।

त्यसो त आम मानिसको जीवनमा आएको संकटका आयाम अर्थ–राजनीतिमा मात्र सीमित छैनन् । प्रकृति र वातावरणको ह्रास थप कहालीलाग्दो छ । केही दशकयता जलवायु परिवर्तनको रौद्ररुप देखिन थालेको छ । यसको प्रभावले अहिलेको सामाजिक र आर्थिक विग्रहलाई आगोमा घिउ थप्ने काम भएको छ । हामी यसको सबैभन्दा छिटो र गहिरो प्रभाव झेल्न बाध्य छौं । यसअघिका वर्षहरूमा बाढीपहिरो र डुबानका रूपमा प्रकट भएको जलवायु संकट यस वर्ष भने हिउँदे झरी नभएसँगै खडेरीको रूपमा प्रकट हुने संकेत देखिएको छ । डोजर आतंकले पहाड र चुरे दोहनले तराई मधेश मरुभूमिकरणको चपेटामा छ ।

यीसँगै, हाम्रो खाना र खेतीपातीसँग जोडिएका कतिपय संरचनागत विभेदका समस्या अझैसम्म सम्बोधन भएका छैनन् । खासगरी, खानाका लागि खेतीपाती गर्ने सामाजिक उद्यमी किसानको जमिनमा पहुँच छैन । उदाहरणका लागि, झण्डै २५ प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन बाँझो छ भने उत्तिकै संख्यामा खेतीपाती गर्ने किसान भूमिहीन छन् ।

भूमि सुधारका लागि भन्दै बनेका आयोगहरू राजनीतिक पार्टीका प्यूसा साबित भएका छन् । सरकारसँगै फेरिने यी आयोग कार्यकर्ता भर्तीकेन्द्र र आफ्ना मान्छेलाई आश्वासन बाँड्ने मतियार भएका छन् । तीन दशकदेखि यिनले यो भूमिको समस्या सल्टाउने भन्दा झनै गिजोल्ने गरेको तितो अनुभवका हामी सबै साक्षी छौं ।

यस्तो किन भयो ?

समग्रमा सात दशकभन्दा बढी आधुनिक हुने नाममा अरूको मात्र नक्कल गर्दै विकासे दौडमा सामेल भएर बितायौं । यो दौडमा सामेल भएर प्रकृति मात्र ध्वस्त बनाएनौं, सिङ्गो समाजलाई परनिर्भर बनाउन गर्न सक्ने जति गर्‍यौं ।

उपनिवेशी शासकले बाँडेका विकासे सपनामा बरालिएको हाम्रो चेतले प्रतिव्यक्ति आम्दानीले निर्धारण गर्ने विकास पछ्याउने दौड मात्र हाम्रो भविष्यको गन्तव्य बन्यो । यसले मुट्ठीभरलाई विकास त दियो तर समाजले आत्मलघुता, तीव्र गतिमा वातावरणीय स्रोतको क्षय, प्रदूषण, मधुमेह र क्यान्सर जस्ता नसर्ने रोगहरू उपहारमा पाएको छ ।

आफ्ना स्रोत–साधनमाथिको नियन्त्रण गुमाइरहेका हामी विस्तारै भविष्यका सन्ततिको नासो बेचेर गुजारा गर्ने निकम्मा पुस्तामा दरिन थालेका छौं । यसको अर्थ हाम्रा भौतिक आवश्यकता पूरा गर्नुपर्दैन भन्ने होइन तर सस्तो र क्षणिक फाइदाका लागि भविष्यका पुस्ताको नासो बेचेर नखाऔं भन्ने हो । यसरी आधुनिक हुने नाममा भित्र्याएको उत्ताउलो औद्योगिक विकासको असर अहिले क्यान्सर जस्तै हाम्रो सामाजिक जीवनका सबै अंगमा फैलिंदै गएको छ ।

समृद्धिका नाममा यस्तो उत्ताउलो विकास भित्र्याउन हामी सबै र उस्तै जिम्मेवार छैनौं तर निहित समूहको स्वार्थले संकटग्रस्त बन्दै गएको प्रकृति, समाज र यसले आफ्नै जीवनमा पारेको प्रभावलाई प्रश्न उठाउन भने पक्कै चुक्यौं । खासगरी एक आयामिक पानीको फोका जस्तो विकासे अर्थतन्त्रको ढाँचालाई आदर्श मान्ने परनिर्भर मानसिकतामाथि प्रश्न गर्न सकेनौं ।

हुनत यो नेपालमा मात्र भइरहेको कुरा पनि होइन । सँगै, राजनैतिक वाद र विचारधाराको भिन्नताले मात्र भित्रिएको विकृतिको त झनै होइन । आयातित स्रोत र ज्ञानले ल्याएको विकासले गर्दा समाजले सामुदायिकतासँगै मानव विवेक र एकापसको भरोसा नै गुमाएको छ । दलाल विश्व पूँजी बजारका लागि गिट्टी–बालुवा मात्र हैन, मान्छे बेच्न उद्यत छ । यिनैले पालेपोसेको सत्ता यसैमा मलजल गरेर आउने विप्रेषणको खरानी घसेर समृद्धि यात्रामा मग्न छ ।

यस दृष्टिले पूँजीवादी होउन् वा साम्यवादी, स्रोतको दोहन गरेर समृद्ध हुने कुराको नक्कल अर्थात् अन्धभक्ति गर्ने उपनिवेशी संस्कृतिले निम्त्याएको विकृति हो । यस अर्थमा, स्थानीय विशेषताको प्रकृतिसम्मत उन्नतिको आधार नखोजी बाँड्ने समृद्धि सपना एउटा ढोंग हो । यो सपना बाँड्ने र यही पत्याएर यिनैका पछि लाग्ने सबै ढोंगी हुन् ।

यस्ता संकटको दीर्घकालीन समाधान गर्ने सोच विना नेपाली समाज उन्नत बनाउन सकिंदैन । अहिले सबै विकृति र संकट सत्ताले आसेपासे अर्थतन्त्रको सहारा लिएर आफैंले भित्र्याएको हो । त्यसैले यसले आफैंले भित्र्याएको विकृतिसँगै खाना, खेतीपाती, वातावरण लगायत संकटको सम्बोधन गर्न सक्छ भनेर पत्याएसम्म नेपाली समाज उन्नत हुने सपना पूरा हुँदैन ।

खासगरी, खानाको बन्दोबस्त गर्ने खेतीपातीको ढाँचा नबनाई आम समुदायको जीवनयापनका संकट टार्न सकिंदैन । सँगै, यस्तो ढाँचा अहिले देखिएका वातावरणीय संकट सम्बोधनको बृहत् सोच विना सम्भव छैन ।

किनकि तथ्यले के पुष्टि भएको छ भने धेरै ढिलो हुँदै जाँदा जलवायु परिवर्तन जस्तो बृहत् व्यवहारको सामना गर्ने कुनै उपाय समेत बाँकी रहँदैन । तसर्थ, समय छँदै विचार गरौं । अन्यथा पछुताउनु बाहेकको कुनै विकल्प बाँकी रहने छैन ।

 



संबन्धित समाचारहरु


प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस