तनहुँको भिमादमा प्रत्येक घरमा बोयर बाख्रा पालन यसरी भयो सम्भव लर्नएण्ड अर्न मार्फत इजरायल पुगेका शिव नेपाल फर्केपछि

 शिव कुमार आले   २२ सावन, २०८०


स्कुल पढ्दा किताबका पानामा लेखिएको हुन्थ्यो नेपाल कृषि प्रधान मुलुक हो भनेर । मलाई त्यो भनाई कताकता चित्त बुझ्दैन थियो । किनकी कृषि प्रधान मुलुकमा कृषकको सम्मान थिएन् । अर्को कारण कृषि प्रधान मुलुकका कृषकले नै विदेशबाट आयात गरेका कृषि सामाग्रीको उपभोग गरिरहेका थियौँ । वाल मष्तिष्कले जनाएको असहमती मैले मेरो युवा अवस्थासम्म आईपुग्दा पनि अरु कसैसँग प्रकट गर्ने साहस गर्न सकेको थिईन ।  

परिवारका हामी सबै बाह्रै महिना कृषि कर्ममा व्यस्त हुन्थ्यौँ । तर पनि बाह्रै महिनालाई हातमुख जोड्न पुग्ने कृषि उपज उत्पादन हुदैन्थ्यो । निर्वाहामुखी कृषि, भैँसी, बाख्रा, गाई पालेका थियौँ । खेतबारीमा पनि उसैगरी परम्परागत तवरले अन्नवाली लगाइन्थ्यो । त्यसैले त मेरा बाबाले जीवनको उर्जाशिल समयको झन्डै डेढ दशक विदेशी भूमिमा परिवारबाट टाढा रहेर विताउनु भयो । 
निर्वाहमुखी कृषिबाट गुज्रिरहेको मेरो परिवारको आर्थिक अवस्था त्यति सहज र सवल त पक्कै थिएन । तर परम्परागत कृषी ईज्जत धान्ने साधन बनेको मात्र थियो अरु उपलब्धि हुने कुरै भएन । 

आमाले हिउँद बर्खा नभनि गरेको दुखले एक छाक खाना र एक जोर राम्रो लुगा फेर्ने पुग्दैनथियो । बाबाको बैदेशिक यात्राबाट निर्भर रहेको परिवार कृषि गरेर आर्थिक हैसियत सुधार्न सक्ला भन्ने कल्पना कहाँबाट गर्ने ? हरेक परिस्थितिको दास बन्नुको विकल्प थिएन् । मेरो मात्रै नभएर मेरो समुदायका करिव ६० घरधुरीको अवस्था यस्तै थियो । 

बुझ्ने भएपछि मसँग कृषिमा नयाँ सम्भावना तथा आयाम सहित ग्रामीण समुदायलाई परिवर्तन गर्ने हुटहुटी थियो । आर्थिक रुपमा सिथिल भएका परिवारहरु आम सञ्चार तथा पूर्वाधारको पहुँच भन्दा टाढाको वस्तिहरुमा मानिसहरु वसाई सराई गर्दै अन्यत्रै जान थालेपति करिव करिव गाउँहरु शुन्य जस्तै बन्न थालेका थिए । 
आदर्शमा सिमित कृषि पेशाबाट जीवन निर्वाह गर्न सक्ने अवस्था नभएपछि धेरै युवा साथिहरुले आर्थिक उपार्जनका विकल्पहरु खोज्न थाले । युवा उमेरमा धेरै साथीहरुलाई आर्थिक उपार्जनका लागि विदेश जानुपर्ने बाध्यता आईलाग्यो । 
परिस्थितीको पहाडले थिचेपछि पासपोर्ट बोकेर म्यानपावर धाउनुको विकल्प पनि थिएन् । बैदेशिक रोजगारीमा जानेलाई ऋण पत्याउनेहरु धेरै थिए, गाउँमै कृषि गर्छु भन्दा ऋण नपत्याउने अवस्थाले गर्दा गाउँमै अडिन सक्ने आँट कस्ले गर्न सक्ने र ?  पात्रोमा दिन, महिना हुदैँ सालहरु फेरिए । कृषकको दैनिकी  र अवस्था फेरिएन । निर्वाहामुखी कृषी कर्मले दुख धेरै आम्दानी नगन्य नै थियो । यहीँ परिस्थिमा जसोतसो साहस जुटाएर कृषिमा केही फरक काम गर्ने संङकल्प गरे । तर लगानी गर्न सक्ने हैसियत भने मेरो भएन् । बाख्रा पाल्नलाई ऋण खोज्ने बाहेकको विकल्प नै कहाँ थियो र ? भर्खर १७ बर्षमा टेकेको मलाई ऋण दिन जो कोही पनि तयार भएनन् । मेरो समाजले त मेरो उमेर समुहका उर्जाशिल युवालाई अल्लारेको उपमा दिन मात्रै
सक्थ्यो, ऋण पत्याउदैन्थ्यो । 

काम गर्ने असिमित चाहना भएकै कारण २०६८ सालमा भानुमति साना किसान कृषि सहकारी बाट २० हजार रुपैयाँ ऋण सहयोग लिए । आमाको तिलहरी बेचेर सुरु गरे सृजनशिल बाख्रा फार्म । १० वटा माउ बाख्राबाट निर्वाहामुखी कृषिलाई व्यवसायिक बनाउने यात्रामा होमिएको थिएँ । त्यो बेला ऋण खोजेर बाख्रा पाल्न तम्सिएको युवालाई ढाडस दिनेभन्दा हतोत्साहित बनाउनेहरु धेरै थिए । 

त्यो समय बाख्रा पालन गरेर जीवन निर्वाह गर्न सकिन्छ भन्ने आशा म बाहेकका अरु कसैमा थिएन् । ऋण खोजेर बाख्रा पालन सुरु गर्दा कतिले त मानसिक रुपमा ठिक नभएको सम्म भन्न पछि परेनन् । म भन्नेहरुको कुराको पछाडी लागिन् । सिभिल ओभरिसयर अध्ययन गरेको मैले सुरु गरेको बाख्रा पालन व्यवसाय मेरा लागि एक नयाँ क्षेत्र थियो । 
पशुपालन गरेर सहजै जीवन गुजरा चलाउन सकिन्छ भन्ने कुरा गाउँमा यस अघि नत कसैले देखेका थिए नत सुनेका थिए । मैले चुनौतीका पहाडको सामाना गर्दै बाख्रा पाल्न सुरु गरेँ । सुरु सुरुमा प्राविधिक ज्ञान अनुभव नभएको मान्छे उमेरले पनि अलिक कच्चा भएर होला सफलता हात पार्न धौँधौँ भयो । व्यवसायबाट सोचे जस्तो आम्दानी हुन सकेन । ऋणको सावाँ र ब्याज तिर्न नसक्दा केही असहज भयो । तर निराश भएर मैले सुरु गरेको यात्राबाट विचलित हुने छुट कदापि थिएन् । म मानसिक रुपमा व्यवसायलाई अगाडि बढाउने गरि निरन्तर लागिरहेँ । 

यसै समयमा नेपाल भू–कम्प र नाकाबन्दीको चपेटाबाट थलिएपछि लयमा फर्कन निकै सकस प¥यो । विभिन्न आरोह अवरोह पार गर्दै दृढ अठोटका साथ अगाडि बढाएको मेरो बाख्रा पालन व्यवसाय विस्तार हुँदै थियो । 

यसै समयमा वि. स. २०७४ सालमा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साना किसान विकास लघुवित्त संस्था मार्फत ईजरायल जाने सुनौलो अवसर जु¥यो । ११ महिने ईजरायल यात्रा मेरो जिन्दगिको स्वर्णिम समय सिद्ध भएको छ । प्राविधिक सिप, क्षमता बिकास गर्ने र व्यवसाय प्रर्वद्धनका लागि बीउ पूँजी व्यवस्थापनमा लर्न एण्ड अर्न कार्यक्रम कोशेढुंगा सावित बन्यो । सायद इजरायल जान नपाएको भए म आज म बन्ने थिईन । 

एउटा सामान्य कृषकको छोरा बाख्राको खोरमा दैनिकी विताइरहको मान्छे कृषि प्रविधि सिक्न ईजरायल जान सक्ला भन्ने धेरैलाई लागेको थिएन । तर मलाई साना किसान परिवारको लर्न एण्ड अर्न कार्यक्रम मार्फत जान पाउछु कि भन्ने आश थियो । इजरायल पुगेर आधुनिक कृषि प्रविधि र प्रणाली सिक्न पाए भने ओरालो लागेको व्यवसायलाई लयमा फर्काउन सकुलाँ कि आशाको किरण थियो । जुन पुरा भयो पनि । धान फल्ने खेत मासेर लगाएको १२ हजार घाँसका बेर्नाले थप दक्षता र व्यवस्थापन खोजीरहेको थियो । हजुरबुवाको मनमा खेत विगारिदिएको चिन्ता उस्तै थियो । ऋणको चपेटामा परेको मलाई अन्यत्र जान ठाउँ पनि थिएन ।  हिम्मत गरेरै व्यवसायमा जम्नैपर्ने थियो र त फरक अभ्यास गरिरहँे । 

बाख्रा पाल्न सुरु गर्दा बेचेको आमाको तिलहरी फिर्ता दिनु थियो । निराश गाउँलेमा आशाको किरण जगाउनु थियो । असफलताको मानसिकताबाट मेरो विश्लेषण गर्नेहरुलाई मैले गरेका हरेक काम सही रहेछ भनेर प्रमाणित गराउनुपर्ने आफैँमा चुनौती थियो । अझ बढी अरुलाई भन्दा आफैँले आफैँलाई जित्नु थियो ।

प्रतिकुल परिस्थिती र समयलाई आफु अनुकुल बनाउनु थियो । भाग्यलाई श्रम, मेहनत र निरन्तरताले दासी बनाउने रहेछ । अविछिन्न प्रयासबाट आज परिचय बद्लिएको छ । ११ महिनाको ईजरायलस्थित रमात नेगेब इन्टरनेशनल ट्रेनिङ सेन्टरबाट सिकेको ज्ञानले व्यवसाय व्यवस्थापनमा सफल बनाएको छ । 

रित्तिएको बाख्राका खोरलाई इजरायलको लर्न र अर्नले भरिभराउ बनाएको छ । बाख्रा पाल्न सुरु गर्दा बेचेको आमाको तिलहरी फिर्ता गर्न सक्ने हैसियत बनाउन सफल भएको छु ।
एक सरो लुगा फेर्नलाई मात्रै मैलै बाख्रा पालन सुरु गरेको पक्कै हैन । चरम गरिबीको रेखामुनि रहेको मेरो समुदायको निर्वाहमुखी कृषि र पशुपालनमा घुमिरहेको मानसिकतालाई परिवर्तन गर्दै व्यवसायिक यात्रामा डो¥याउनु थियो । ऋणमुक्त गराउने अभ्यासमा जोड्नु थियो । आज धेरै हदसम्म सफलता मिलेको छ । 

गाउँलेले कल्पना समेत गरेका थिएनन् एउटै बाख्राको मुल्य तीन लाख रुपैयाँ सम्म पर्छ भन्ने । तर आज हामिले त्यही बोर जातका बाख्राहरु नेपाल अधिराज्यभर बीउका लागि बिक्री वितरण गरी करिव वर्षको चार करोड रुपैयाँको हाराहारीमा आम्दानी गाउँमा भित्र्याउन सफल भएका छौँ । 

ठूलो व्यवासय त मैले गरेको छैन् व्यक्तिगत रुपमा एक्लैले झन्डै ७० लाख रुपैयाँको हाराहारिमा लगानी गरेको छु । ग्रामिण समुदाय भिमाद नगरपालिका– ९ पाथर्दीको वस्तीलाई नेपालको नमुना बोर बाख्रा स्रोत विकास केन्द्रको रुपमा स्थापित गर्न सफल भएका छौं ।  

विश्वविद्यालयहरुसँग गाउँको बाख्रापालनलाई जोड्न सकेका छौं । कृषि मार्फत ग्रामीण पर्यटनको सम्भावना देखेर गाउँमा होमस्टे (घरबास) कार्यक्रम संचालन गरेका छौँ । मैले फरक काम अनि ठूलो पक्कै गरेको छैन् । तर गाउँको ६० घरधुरी परिवारलाई निर्वाहामुखी कृषिबाट व्यवसायिक कृषिमा जोड्दै आर्थिक अवस्था सुधार्न केही हदसम्म सफल भएको छु । यो सफलता मेरो र गाउँलेको मात्रै हैन् । साना किसान लघुवित्त संस्था, इजरायल सरकार र लर्न एण्ड अर्न कार्यक्रमको हो । 



संबन्धित समाचारहरु


प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस