सफलताको एक कथा

 एग्रो खबर   १५ चैत, २०७९


जात, वर्ग र पद जति उच्च भए पनि खाने भात नै हो। जिउनार, पकवान, चौरासी व्यञ्जन, खाजा र डिनर जे भन्नुहोस्, व्यक्ति सधैं राम्रो गुणद्वारा उच्च हुनुपर्छ। उच्च स्थानमा बसेर कोही ठूलो वा उच्च हुँदैन। अफाप र फाप कर्मको योग हो।

धावन्ती खेती घोकन्त विद्या

एक पटकको सत्यतथ्यमा आधारित कथा हो। मेहनत गर्ने कहिल्यै असफल हुँदैनन्। एकजना साह्रै मेहनती, लगनशील र कर्तव्यनिष्ठ किसान थिए। उनको गाउँको अलि तल खोलाको किनारमा खेतबारी थियो। त्यो खेतबारीमा खोलाको पानीले सिँचाइ गर्थे। अर्गानिक खेती उनको पहिचान र विशेषता नै थियो। बाख्रा, गाई, गोरु र भैंसी पालेका गोबर मल प्रशस्तै हुने भएपछि रासायनिक मलको प्रयोग सवालै उठ्दैन थियो।

एकताका खेतमा धानको बेर्ना (बीउ) राख्ने समय थियो। धानको बीउ राख्ने समयमा ती किसान ठ्याम्म पारेका गरा आलीमा बीउ छर्न पुगे। गर्मीयामको समय थियो, थकाइ मेट्नको लागि खेत नजिकैको रूखको शीतल छहारीमा बस्ने निधो गरेछन्। खेतमा सिँचाइ गर्ने कुलो पनि त्यहीँबाट बगेको थियो। टुँसाएको एक दाना मात्रै धान ती किसानको झुत्रो लुगामा टाँसिएको थियो। त्यो एक दाना धान ती किसानले सोचे, विचार गरे र कुलोको किनारमा रोपेर छोडे।

जसरी दिन बित्दै गए लगभग ३ देखि ४ हप्तामा धानको बेर्ना रोप्न तयार भयो। ती किसानले आफ्नो दश मुरी फल्ने खेत समयमै रोपे। खोलाको पानी लाग्ने हुँदा सिँचाइ कुनै समस्या थिएन। उनी मेहनती र लगनशील थिए, तसर्थ सिंचाइ गोडमेल गर्ने रेखदेख आदि सबै ज्ञान र अनुभव उनमा थियो। खेतबारीमा गएको समयमा उनी त्यो नजिकैको रूखको छाँयामा नबसी नआउने रहेछन्।

त्यो समयमा त्यो कुलोको किनारमा लगाएको धानको बिरुवा हेर्दै, स्याहार गर्दै, सुम्सुम्याउँदै नियाल्दै गए। आराम गर्ने र एक दाना धानको बीउ रोपेको पनि हुर्कँदै गयो। हेर्दा-हेर्दै धान लटरम्म लहैलहै धानका बाला लत्रिए, किसान हर्षविभोर भयो। साथै त्यो एक दाना धानको बीउ जो कुलाको किनारमा रोपेको थियो, त्यो पनि राम्रोसँग फल्यो। लगभग एक मुठी धान नै भएछ।

किसानले एक मुठी धान जतनका साथ भण्डारण गरेर अलग्गै राखे। अर्को साल त्यो एक मुठी अलग्गै बेर्ना तयार गरी अलग्गै रोप्ने जमर्को गरे। लगनशीलता र कडा मेहनतले तालुमा आलु होइन सुन फल्न सक्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरे। अर्को वर्ष एक दाना धानको बेर्नाबाट एक मुठी धान फल्यो भने दोस्रो वर्ष एक मुठी धानबाट एक मुरी धान, तेस्रो वर्ष फालाफल बीउ मात्रै होइन अधिक नै भयो।

त्यो एक दाना बालाबाट आज दश मुरी खेती कमाइ गर्‍यो। लगनशील, अनुशासन, कर्तव्यबोध र जिम्मेवारी भयो भने यो माटोमा सुन फलाउन सकिन्छ।

व्यक्ति व्यक्ति नबनी देश बन्दैन। हरेक व्यक्ति परिश्रमी, पराक्रमी, उद्यमशील र उद्यमी बन्न वाञ्छनीय छ। तन्त्र, वाद र सिद्धान्त जो माने पनि सर्वप्रथम उत्पादनमा जोडिएको आत्मनिर्भर स्वाधीन अर्थतन्त्रको सफलीभूत नीति निर्माण नै मूलधन हो।

आज जलवायु परिवर्तनको मारमा परम्परागत कृषि प्रणालीमा क्षयीकरण हुँदै गएको छ। मानिस अल्छी गर्दैछन्। दाना रोपेर मुठी, मुठी रोपेर मुरी फलाउने पूरानो कृषि पद्धतिमा ह्रास आएको छ। आज उर्वर भूमि उजाड बन्दै छ। के हिमालय, पहाड र तराई सबैतिर रैथाने जातका अन्नपात फलफूल तरकारी उत्पादन हुन, फुल्न र फल्न छोड्यो। वर्षेनी बजारमा रासायनिक मलको अभाव भयो, सरकारले किसानलाई समयमा मल उपलब्ध गराउन सकेन भनेर छिल्लिबिल्ली आलोचना हुनेगर्छ।

सुधार र समस्याको निधान कहिल्यै हुँदैन। किसान समयमा पैसा हालेर पनि मल बीउबिजन पाउँदैन। यो बारम्बारको विडम्बनापूर्ण र दीर्घकालीन समस्यामध्ये एक हो। रासायनिक मल उत्पादन गर्ने कारखाना पनि स्थापना गर्न सकिन्थ्यो तर त्यतातिर कसैको ध्यान जाँदैन। त्यसरी बल्लतल्ल उत्पादन गरेको फसलको सहज बजारीकरण र सहजीकरण वितरणमा सही मूल्य नपाउने हुँदा पटक-पटक किसान मारमा पर्ने र ठगिने गर्छन्।

कृषिप्रधान देश जम्मै कृषि उपज आयात गरेर खानुपर्ने बाध्यता र विवशता छ। युवायुवती जति विदेशिने अनि स्वदेशमा भएकाहरू राजनीति भ्रष्टाचार मिलोमतो कठपुतली दैलो चहार्नु नियत बनिसकेको छ। त्यहीँ दलपतिको अघिपछि भ्रष्ट राजनीतिको चक्रव्यूहको बदनियत खेती गर्छन्। बरालिने कति र कहिलेसम्म अत्तोपत्तो छैन्।

सुधार गर्ने कि त नागरिकको असन्तुष्टिले निक्लेको ज्वारभाटाबाट हो, कि त राजनीति दलहरूको प्रण, अठोट, विधि र पद्धतिको कठोर र निर्मम पालनले हो। तर कुनै सकारात्मक संकेत भेट्न सकिँदैन। राज्यका निश्चित संस्थाहरूमा आज अलोकतन्त्रको जगजगीले स्वयत्त संस्थाहरूको महिमा, गरिमा र स्वतन्त्रता धुलिसात् पारिएका छन्।

दलपतिहरू नाङ्गो रूपमै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, संसद, अड्डा-अदालत, अख्तियार, गुप्तचर विभाग लगायत विभिन्न सरकारी संस्थानहरू बीच सम्बन्ध क्षयीकरण पुगेको छ। विधि मिच्ने होडबाजी चलेको अवान्छित गतिविधि हुन्छ, गर्छन् भन्ने कुरा छर्लङ्गै हुँदै गएका छन्। सत्ताभोगमा लालायित छन्, अलोकतन्त्रको बिगबिगी अनैतिक अप्राकृतिक गठजोडमा तम्सेको घनिभूत तमासा देखाउँदैछन्।

सदाचार विधिको शासन तोड्न र तोडमोड गर्न राज्यका निकायमाथिको अपवित्र कजाउन विरोधाभास रजगज चलाउन नतमस्तक छन्। कसैलाई जनताको चिन्ता छैन मात्रै जालझेल र षड्यन्त्रको पुलिँदा वैदेशिक शक्तिको कठपुतली बनिरहेका छन्।

कृषिप्रधान देशमा गुन्द्रुक र सिन्की आयात गरेर खानुपर्ने कस्तो आश्चर्यजनक र लज्जास्पद अवस्था है! जलस्रोतको धनी मुलुक भारतबाट बिजुली आयात गरेर धन्न पुगनपुग बिजुलीबाट देशको लोडसेडिङ अन्त्य गरेको कुरा कसैले भुल्नु हुँदैन। शान्ति-सुरक्षा अमनचय छैन, राष्ट्रिय एकतामा खलबली मच्चाउने स्वाधीनता कमजोर पार्ने व्यक्ति स्वार्थमा सबै दलहरू घोत्लिएका छन्। देश कसरी समृद्ध बनाउने संसार कहाँबाट कहाँ पुगिसक्यो एक किसानको जत्तिको जुक्ति र बुद्धि राजकाज चलाउनेमा देखिदैन्।

कृषिप्रधान देश आज दलपति दलप्रधान बन्दैछ। आयातित कृषि उपज जसरी वाद र सिद्धान्त आयात गरी अलोकतन्त्रको अभ्यास गर्दैछन्। एकै घरमा चार/पाँच जना परिवार सदस्य विभक्त छन्। सबै अलग-अलग पार्टीको सदस्य बनेर मतदाता विहीन सबै नागरिक दलहरूको झोले दलहरू दलपति बन्दैछन्।

रोजगारी कसरी सिर्जना गर्ने? प्राकृति सम्पदाको कसरी सदुपयोग र प्रयोग गर्ने? देशको आयस्रोत कसरी वृद्धि गर्ने भन्ने कुरा कसैलाई ख्याल छैन। समीक्षा र आत्मसमीक्षा लोकतन्त्र नभई नहुने नीति हो। प्रणालीको सुधार मात्रै मति र गति नेतृत्व कहिल्यै सुधार नगर्ने?

अत: अहिलेको लोकतन्त्रको हवल्दार भन्नेहरूद्वारा नै लोकतन्त्र विधिको शासन अझ भन्नुपर्दा संघीय लोकतान्त्रिक गणतन्त्र नै संकट ग्रस्त छ। सधैं राजनीति खिचातानीको घानमा राज्यका संस्थाहरूको साख र गरिमामा गम्भीर चोट पुगेको छ। देश दुनियाँ चटक्कै छोडेर गाली र तालीमा रमाउँदैछन्। राजनीति शास्त्र, शिक्षाशस्त्र र नीति शास्त्रको साख धुमिल छ। एक्लै किसान एक्लै विधेयक एक्लै न्यायलय एकलै सरकारले मात्रै देशलाई सही दिशानिर्देश गर्न सक्दैनन्। राष्ट्रिय एकता हुनुपर्ने हुन्छ।

शक्तिकेन्द्र संरक्षण प्राप्त लोकतन्त्रको अनिवार्य मानिएका खम्बा स्वच्छता र स्वयत्ता माथि घात आघात पुगेको छ। दोषी र निर्दोष को भन्न सावित गर्ने उनीहरूको स्वयत्त निर्णय गर्ने क्षमता प्रश्न उब्जिएको छ। जसरी एक किसानले एक गेडा धानबाट दश मुरी धानको बीउ फलाउन सफल भयो, यहाँ साधन श्रोतको कमि छैन। केवल पारदर्शिता, नैतिकता, दृढताको साथै मात्रै इच्छाशक्तिको कमि नहोस्। यो उर्वर भूमिमा चाहे भने सुन फल्छ।  

कर्म गुनाको फल अवश्यम्भावी छ। जिउँदै मर्‍याको भनी नाउँ कसको, उद्यम बिना बित्दछ काल जसको। झुटको खेती नगरौं। उब्जिएको अन्नपात हामीले नै खानुपर्छ। अर्गानिक खेतीतर्फ उन्मुख हौँ, सबैको हित त्यसैमा छ। स्वास्थ्य नै धन हो। अस्वस्थ प्रतिस्पर्धा र अस्वस्थकर खाना देश र स्वास्थ्यलाई हानिकारक छ। भ्रष्टाचारले देश खान्छ भने अस्वस्थकर खानाले स्वास्थ्य। 



संबन्धित समाचारहरु


प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस