स्कुल पढ्दा किताबका पानामा लेखिएको हुन्थ्यो नेपाल कृषि प्रधान मुलुक हो भनेर । मलाई त्यो भनाई कताकता चित्त बुझ्दैन थियो । किनकी कृषि प्रधान मुलुकमा कृषकको सम्मान थिएन् । अर्को कारण कृषि प्रधान मुलुकका कृषकले नै विदेशबाट आयात गरेका कृषि सामाग्रीको उपभोग गरिरहेका थियौँ । वाल मष्तिष्कले जनाएको असहमती मैले मेरो युवा अवस्थासम्म आईपुग्दा पनि अरु कसैसँग प्रकट गर्ने साहस गर्न सकेको थिईन ।
परिवारका हामी सबै बाह्रै महिना कृषि कर्ममा व्यस्त हुन्थ्यौँ । तर पनि बाह्रै महिनालाई हातमुख जोड्न पुग्ने कृषि उपज उत्पादन हुदैन्थ्यो । निर्वाहामुखी कृषि, भैँसी, बाख्रा, गाई पालेका थियौँ । खेतबारीमा पनि उसैगरी परम्परागत तवरले अन्नवाली लगाइन्थ्यो । त्यसैले त मेरा बाबाले जीवनको उर्जाशिल समयको झन्डै डेढ दशक विदेशी भूमिमा परिवारबाट टाढा रहेर विताउनु भयो ।
निर्वाहमुखी कृषिबाट गुज्रिरहेको मेरो परिवारको आर्थिक अवस्था त्यति सहज र सवल त पक्कै थिएन । तर परम्परागत कृषी ईज्जत धान्ने साधन बनेको मात्र थियो अरु उपलब्धि हुने कुरै भएन ।
आमाले हिउँद बर्खा नभनि गरेको दुखले एक छाक खाना र एक जोर राम्रो लुगा फेर्ने पुग्दैनथियो । बाबाको बैदेशिक यात्राबाट निर्भर रहेको परिवार कृषि गरेर आर्थिक हैसियत सुधार्न सक्ला भन्ने कल्पना कहाँबाट गर्ने ? हरेक परिस्थितिको दास बन्नुको विकल्प थिएन् । मेरो मात्रै नभएर मेरो समुदायका करिव ६० घरधुरीको अवस्था यस्तै थियो ।
बुझ्ने भएपछि मसँग कृषिमा नयाँ सम्भावना तथा आयाम सहित ग्रामीण समुदायलाई परिवर्तन गर्ने हुटहुटी थियो । आर्थिक रुपमा सिथिल भएका परिवारहरु आम सञ्चार तथा पूर्वाधारको पहुँच भन्दा टाढाको वस्तिहरुमा मानिसहरु वसाई सराई गर्दै अन्यत्रै जान थालेपति करिव करिव गाउँहरु शुन्य जस्तै बन्न थालेका थिए ।
आदर्शमा सिमित कृषि पेशाबाट जीवन निर्वाह गर्न सक्ने अवस्था नभएपछि धेरै युवा साथिहरुले आर्थिक उपार्जनका विकल्पहरु खोज्न थाले । युवा उमेरमा धेरै साथीहरुलाई आर्थिक उपार्जनका लागि विदेश जानुपर्ने बाध्यता आईलाग्यो ।
परिस्थितीको पहाडले थिचेपछि पासपोर्ट बोकेर म्यानपावर धाउनुको विकल्प पनि थिएन् । बैदेशिक रोजगारीमा जानेलाई ऋण पत्याउनेहरु धेरै थिए, गाउँमै कृषि गर्छु भन्दा ऋण नपत्याउने अवस्थाले गर्दा गाउँमै अडिन सक्ने आँट कस्ले गर्न सक्ने र ? पात्रोमा दिन, महिना हुदैँ सालहरु फेरिए । कृषकको दैनिकी र अवस्था फेरिएन । निर्वाहामुखी कृषी कर्मले दुख धेरै आम्दानी नगन्य नै थियो । यहीँ परिस्थिमा जसोतसो साहस जुटाएर कृषिमा केही फरक काम गर्ने संङकल्प गरे । तर लगानी गर्न सक्ने हैसियत भने मेरो भएन् । बाख्रा पाल्नलाई ऋण खोज्ने बाहेकको विकल्प नै कहाँ थियो र ? भर्खर १७ बर्षमा टेकेको मलाई ऋण दिन जो कोही पनि तयार भएनन् । मेरो समाजले त मेरो उमेर समुहका उर्जाशिल युवालाई अल्लारेको उपमा दिन मात्रै
सक्थ्यो, ऋण पत्याउदैन्थ्यो ।
काम गर्ने असिमित चाहना भएकै कारण २०६८ सालमा भानुमति साना किसान कृषि सहकारी बाट २० हजार रुपैयाँ ऋण सहयोग लिए । आमाको तिलहरी बेचेर सुरु गरे सृजनशिल बाख्रा फार्म । १० वटा माउ बाख्राबाट निर्वाहामुखी कृषिलाई व्यवसायिक बनाउने यात्रामा होमिएको थिएँ । त्यो बेला ऋण खोजेर बाख्रा पाल्न तम्सिएको युवालाई ढाडस दिनेभन्दा हतोत्साहित बनाउनेहरु धेरै थिए ।
त्यो समय बाख्रा पालन गरेर जीवन निर्वाह गर्न सकिन्छ भन्ने आशा म बाहेकका अरु कसैमा थिएन् । ऋण खोजेर बाख्रा पालन सुरु गर्दा कतिले त मानसिक रुपमा ठिक नभएको सम्म भन्न पछि परेनन् । म भन्नेहरुको कुराको पछाडी लागिन् । सिभिल ओभरिसयर अध्ययन गरेको मैले सुरु गरेको बाख्रा पालन व्यवसाय मेरा लागि एक नयाँ क्षेत्र थियो ।
पशुपालन गरेर सहजै जीवन गुजरा चलाउन सकिन्छ भन्ने कुरा गाउँमा यस अघि नत कसैले देखेका थिए नत सुनेका थिए । मैले चुनौतीका पहाडको सामाना गर्दै बाख्रा पाल्न सुरु गरेँ । सुरु सुरुमा प्राविधिक ज्ञान अनुभव नभएको मान्छे उमेरले पनि अलिक कच्चा भएर होला सफलता हात पार्न धौँधौँ भयो । व्यवसायबाट सोचे जस्तो आम्दानी हुन सकेन । ऋणको सावाँ र ब्याज तिर्न नसक्दा केही असहज भयो । तर निराश भएर मैले सुरु गरेको यात्राबाट विचलित हुने छुट कदापि थिएन् । म मानसिक रुपमा व्यवसायलाई अगाडि बढाउने गरि निरन्तर लागिरहेँ ।
यसै समयमा नेपाल भू–कम्प र नाकाबन्दीको चपेटाबाट थलिएपछि लयमा फर्कन निकै सकस प¥यो । विभिन्न आरोह अवरोह पार गर्दै दृढ अठोटका साथ अगाडि बढाएको मेरो बाख्रा पालन व्यवसाय विस्तार हुँदै थियो ।
यसै समयमा वि. स. २०७४ सालमा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साना किसान विकास लघुवित्त संस्था मार्फत ईजरायल जाने सुनौलो अवसर जु¥यो । ११ महिने ईजरायल यात्रा मेरो जिन्दगिको स्वर्णिम समय सिद्ध भएको छ । प्राविधिक सिप, क्षमता बिकास गर्ने र व्यवसाय प्रर्वद्धनका लागि बीउ पूँजी व्यवस्थापनमा लर्न एण्ड अर्न कार्यक्रम कोशेढुंगा सावित बन्यो । सायद इजरायल जान नपाएको भए म आज म बन्ने थिईन ।
एउटा सामान्य कृषकको छोरा बाख्राको खोरमा दैनिकी विताइरहको मान्छे कृषि प्रविधि सिक्न ईजरायल जान सक्ला भन्ने धेरैलाई लागेको थिएन । तर मलाई साना किसान परिवारको लर्न एण्ड अर्न कार्यक्रम मार्फत जान पाउछु कि भन्ने आश थियो । इजरायल पुगेर आधुनिक कृषि प्रविधि र प्रणाली सिक्न पाए भने ओरालो लागेको व्यवसायलाई लयमा फर्काउन सकुलाँ कि आशाको किरण थियो । जुन पुरा भयो पनि । धान फल्ने खेत मासेर लगाएको १२ हजार घाँसका बेर्नाले थप दक्षता र व्यवस्थापन खोजीरहेको थियो । हजुरबुवाको मनमा खेत विगारिदिएको चिन्ता उस्तै थियो । ऋणको चपेटामा परेको मलाई अन्यत्र जान ठाउँ पनि थिएन । हिम्मत गरेरै व्यवसायमा जम्नैपर्ने थियो र त फरक अभ्यास गरिरहँे ।
बाख्रा पाल्न सुरु गर्दा बेचेको आमाको तिलहरी फिर्ता दिनु थियो । निराश गाउँलेमा आशाको किरण जगाउनु थियो । असफलताको मानसिकताबाट मेरो विश्लेषण गर्नेहरुलाई मैले गरेका हरेक काम सही रहेछ भनेर प्रमाणित गराउनुपर्ने आफैँमा चुनौती थियो । अझ बढी अरुलाई भन्दा आफैँले आफैँलाई जित्नु थियो ।
प्रतिकुल परिस्थिती र समयलाई आफु अनुकुल बनाउनु थियो । भाग्यलाई श्रम, मेहनत र निरन्तरताले दासी बनाउने रहेछ । अविछिन्न प्रयासबाट आज परिचय बद्लिएको छ । ११ महिनाको ईजरायलस्थित रमात नेगेब इन्टरनेशनल ट्रेनिङ सेन्टरबाट सिकेको ज्ञानले व्यवसाय व्यवस्थापनमा सफल बनाएको छ ।
रित्तिएको बाख्राका खोरलाई इजरायलको लर्न र अर्नले भरिभराउ बनाएको छ । बाख्रा पाल्न सुरु गर्दा बेचेको आमाको तिलहरी फिर्ता गर्न सक्ने हैसियत बनाउन सफल भएको छु ।
एक सरो लुगा फेर्नलाई मात्रै मैलै बाख्रा पालन सुरु गरेको पक्कै हैन । चरम गरिबीको रेखामुनि रहेको मेरो समुदायको निर्वाहमुखी कृषि र पशुपालनमा घुमिरहेको मानसिकतालाई परिवर्तन गर्दै व्यवसायिक यात्रामा डो¥याउनु थियो । ऋणमुक्त गराउने अभ्यासमा जोड्नु थियो । आज धेरै हदसम्म सफलता मिलेको छ ।
गाउँलेले कल्पना समेत गरेका थिएनन् एउटै बाख्राको मुल्य तीन लाख रुपैयाँ सम्म पर्छ भन्ने । तर आज हामिले त्यही बोर जातका बाख्राहरु नेपाल अधिराज्यभर बीउका लागि बिक्री वितरण गरी करिव वर्षको चार करोड रुपैयाँको हाराहारीमा आम्दानी गाउँमा भित्र्याउन सफल भएका छौँ ।
ठूलो व्यवासय त मैले गरेको छैन् व्यक्तिगत रुपमा एक्लैले झन्डै ७० लाख रुपैयाँको हाराहारिमा लगानी गरेको छु । ग्रामिण समुदाय भिमाद नगरपालिका– ९ पाथर्दीको वस्तीलाई नेपालको नमुना बोर बाख्रा स्रोत विकास केन्द्रको रुपमा स्थापित गर्न सफल भएका छौं ।
विश्वविद्यालयहरुसँग गाउँको बाख्रापालनलाई जोड्न सकेका छौं । कृषि मार्फत ग्रामीण पर्यटनको सम्भावना देखेर गाउँमा होमस्टे (घरबास) कार्यक्रम संचालन गरेका छौँ । मैले फरक काम अनि ठूलो पक्कै गरेको छैन् । तर गाउँको ६० घरधुरी परिवारलाई निर्वाहामुखी कृषिबाट व्यवसायिक कृषिमा जोड्दै आर्थिक अवस्था सुधार्न केही हदसम्म सफल भएको छु । यो सफलता मेरो र गाउँलेको मात्रै हैन् । साना किसान लघुवित्त संस्था, इजरायल सरकार र लर्न एण्ड अर्न कार्यक्रमको हो ।